Friday, June 11, 2010

संसारकै सस्तो सहरमध्ये काठमाडौं

सञ्जय न्यौपाने
काठमाडौं, फागुन २९ - राष्ट्र बैंकको तथ्यांकले भन्छ, नेपालमा मूल्यवृद्धि १४ दशमलव ५ प्रतिशत छ । उपभोग्य वस्तुको भाउ योभन्दा धेरै बढेको छ । लामो समयपछि नेपालीले चर्को महँगीको सामना गरिरहेको बेला हो यो । तर संसारको आँखाले त्यसो भन्दैन । काठमाडौं संसारका दस सबैभन्दा सस्तो सहरमा परेको छ ।
आयरल्यान्डको डब्लिनस्थित इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सोमबार प्रकाशित गरेको जीविकोपार्जन लागत सर्वेक्षणअनुसार सस्ता सहरमध्ये काठमाडौं १ सय २८ औं नम्बरमा परेको छ । सबैभन्दा सस्तो दस सहरमा एसियाका मात्रै पाँचवटा छन् । यीमध्ये पनि सबैभन्दा सस्तो सहर पाकिस्तानको कराँची भएको छ । नयाँदिल्ली र मुम्बई १ सय २९ औं र १ सय ३० औं स्थानमा छन् । मनिला एसियाको अर्को सस्तो सहर हो । १ सय ४० देशको मूल्य र उत्पादनका आधारमा यो वर्गीकरण गरिएको हो । डलरको तुलनामा ऐन बलियो भएकाले जापानको टोकियो र ओसाका संसारका सबैभन्दा महँगा सहर भएका छन् । महँगा दस सहरको सूचीमा युरोपका सातवटा छन् भने एसियाका तीन छन् ।
तेस्रोदेखि दसौं स्थानमा क्रमशः पेरिस, डेनमार्कको कोपेनहेगन, नर्वेको ओस्लो, स्विटजरल्यान्डको जुरिच, जर्मनीको फ्यांकफट, फिनल्यान्डको हेलसिन्की, स्विटजरल्यान्डकै जेनेभा र सिंगापुर महँगो सहर रहेका छन् ।
गतवर्षको प्रतिवेदनमा नर्वेको ओस्लो र पेरिस सबैभन्दा महँगा सहरमा परेका थिए । प्रतिवेदनमा मनिला र काठमाडौंमा बस्न लाग्ने खर्च न्युयोर्कभन्दा आधामात्र देखिएको छ । भारुसँग स्थायी विनियम भएको नेपाली मुद्रा पनि अमेरिकी डलरसँग कमजोर भएकाले विदेशीका नजरमा गतवर्षभन्दा सस्तो भएको हो । 'जीविकोपार्जनको लागतमा दुईवटा कारक तत्त्व देखिएका छन्,' प्रतिवेदनका सम्पादक कोपेस्टेकले भनेका छन्, 'स्थानीय मूल्य र परिवत्र्य दर ।' २००८ सेप्टेम्बरमा गरिएको अध्ययनबाट प्राप्त तथ्यांकलाई २००९ फेबु्रअरीको परिवत्र्य दरसँग तुलना गरिएको हो ।
आफ्ना कर्मचारी र तिनका परिवारलाई विदेश पठाउँदा दिनुपर्ने भ्रमणभत्ता तय गर्न सघाउ पुर्‍याउने अध्ययनको प्रमुख उद्देश्य भएको प्रतिवेदनमा जनाइएको छ ।